साना किसान सहकारी संस्था चिनारी
साहु महाजन प्रथालाई अन्त्य गरि कृषि क्षेत्रमा किसानको सहज पहुँच र आर्थिक सम्वृद्धी हासिल गर्ने हेतुले स्थानिय स्तरमा छरिएर रहेका स–साना पूँजीलाई एकिकृत गरि आदिवासी थारु,मुक्तकमैया,सुकुम्बासी तथा पिछडिएका महिलाहरु संलग्न गराई बर्दिया जिल्लाको अग्र स्थानमा रहेको साना किसान कृषि सहकारी संस्था तारातालले छिमेकी ठाउँमा आफु जस्तै संस्था स्थापना गर्ने क्रममा साविकको ढोढरी
गा.वि.स.मा साना किसान सहकारी अनुसरण गरेको थियो । चौधरी समुदायको बाहुल्यता र साहुमहाजन प्रथा हाबी भएको ठाउँमा सहकारी स्थापना गर्न ठुलै चुनौती भएता पनि ताराताल साना किसानका मुख्य प्रबन्धक श्री डम्बर के.सी.ले उक्त चुनौतीलाई आत्मसाथ गरि कार्यक्रम संचालन गर्ने क्रममा २०६४।०९।१३ गते डिभिजन सहकारी कार्यालय बर्दियामा संस्था दर्ता भई संचालनमा आएको थियो ।
संस्थाको कार्यालय भवन |
सुरु सुरुमा उक्त क्षेत्रका समुदायमा वित्तीय साक्षरताको कमिका कारण सदस्य विस्तार गर्नमा समस्याहरु आयता पनि विस्तारै साना किसान सहकारीको मर्म,उद्देश्य र वित्तीय साक्षरताको तालिमहरु प्रदान गर्दै जाने क्रममा समुहमा आवद्ध हुनेको संख्या बृद्धि हुदै गएको थियो । २०६७।०७।२७ मा हस्तान्तरणका सम्पुर्ण सुचांकहरु पुरा गरि तत्कालीन गभर्नर डा. युवराज खतिवडाको करकाेमलबाट साना किसान कृषि सहकारी संस्था लि.ढोढरी सोही समुदायमा व्यवस्थापन हस्तान्तरण गरिएको हो ।
दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने राष्ट्रिय नाराका साथ सहकारी अभियानलाई सार्थक बनाउन एकजुट भई अघि बढिरहेको छ ।सम्पुर्ण सदस्य महिला मात्र भएको संस्थाले हालै आफ्नो १२ वार्षिक साधरण सभा समेत सम्पन्न गरेको छ । संस्थामा हाल १५०९ जना शेयर सदस्य छन भने शेयर रकम १ करोड २४ लाख ८४ हजार र कुल बचत ८ करोड ३२ लाख ६८ हजार छ । यसरी संस्थाको आन्तरिक पूँजी १० करोड भन्दा माथी रहेको र ल.र.र.१० करोड ५० लाख भन्दा बढी छ । संस्थाको आफ्नै कार्यालय भवन,गोदाम हल रहेको छ । पशुपालन तथा तरकारीजन्यमा ९ प्रतिशतमा ऋण लगानी गर्ने,पशुविमा कार्यक्रम,दैनिकी बचत संकलन,कम्प्युटर सफ्टवेयरबाट कारोवार संचालन,विभिन्न किसिमका तालिमहरु सहकारी सचेतना,महिला ससक्तिकरण,पशुपालन जस्ता तालिमहरु संचालन,सदस्य सुरक्षण कोष स्थापना,सुत्केरी सहयोग कार्यक्रम, पशुस्वास्थ्य कार्यक्रम,बचतलाई विविधिकरण गरि संचालन,विभिन्न विधामा उत्कृष्ठ किसानहरुलाई पुरस्कार तथा सम्मान,मलखाद तथा उन्नत विउविजन वितरण,युवा स्वरोजगार कर्जा लगानी जस्ता महत्वपुर्ण कार्यक्रमहरु निरन्तर रुपमा मधुवन नगरपालिकाको वार्ड नं.३ र ४ लाई केन्द्रित गरि संचालनमा ल्याईरहेको छ । साविकको आफ्नो छिमेकी गा.वि.स.सुर्यपटुवा र वगनाहामा साना किसान अनुसरण कार्यक्रम गरि हस्तान्तरण समेत गरेको संस्थामा हाल ६ जना कर्मचारीहरु कार्यरत छन ।
Comments
Post a Comment